विजय राईलाई महरानी एलिजाबेथ क्रस

राईलाई महरानी एलिजाबेथ क्रस - अफगानिस्तानको हेल्मन प्रान्तमा भिडन्तको क्रममा गोली लागेर मृत्यु भएका बेलायती सेनाका जवान विजय राईको बुधबार दाह सँस्कार गरिएको छ। असोज २८ गते भिडन्तमा मारिएका राईको शव बुधबार मात्रै नेपाल ल्याइएको थियो। 
सुनसरी हाँशपोशा २ तरहराका २२ वर्षीय राईको शरिर धरानस्थित ब्रिटिश घोपा क्याम्पमा जातीय एवं ब्रिशिट सेनाको सँस्कार वमोजिम अन्त्यस्टी गरियो। 
बेलायतबाट सेनाले चार्टर गरेको जहाज दिउँसो करिब पौने १२ बजे अर्न्तराष्टिय त्रिभुवन विमानस्थलमा राईको शव ल्याइपुर्याएको थियो भने त्यहाँबाट सिधै विराटनगर एयरपोर्ट हुँदै तरहरास्थित घर ल्याइएको थियो। 
मृतक राईको दाहसँस्कार गर्नुअघि तरहरास्थित तामाङ टोलमा उनको शवलाई सयौंको संख्यामा स्थानीय एवं आफन्तजनहरुले सम्मान तथा अन्तिम श्रद्धाञ्जली दिएका थिए। मृतक राईलाई अन्तिम श्रद्धाञ्जली दिन बेलायतबाट सेनाका कमाण्डिङ अफिसर लेफि्टनेन्ट कर्णेल अल्टन डेविसको नेतृत्वमा तीन जना आएका थिए भने ब्रिटिश गोर्खा मेजर हितमान गुरुङसहित अन्य १३ जना बेलायती सेनामा कार्यरत आएका थिए। मृतक राईको शव अन्तिम श्रद्धाञ्जलीमा राखिनुअघि विगुल धुनसहित ल्याइएको थियो। बेलायती सेनाका जनरलले लिखितरुपमा पठाएको समवेदना पत्र पनि पढेर सुनाइएको थियो। 
ब्रिटिश गोर्खा मेजर हितमान गुरुङका अनुसार लडाईमा वीरगति प्राप्त गरेका राईलाई बेलायतमा महारानी एलिजाबेथ क्रसले सम्मान दिइएको थियो। अक्टोबर २५ तारिख र नोभेम्बर ५ तारिखमा बेलायतमा विजयलाई बेलायत सरकार र जनताको तर्फबाट ठुलो सम्मान गरिएको गोर्खा मेजर गुरुङले जानकारी दिए। यस्तै, मृतक राई कार्यरत ब्रुनई पल्टनमा पनि उनलाई ठुलो सम्मान दिइएको मेजर गुरुङले बताए। ‘युद्ध मैदानमा वीरगति प्राप्त गरेका विजयलाई ब्रुनई र बेलायतमा भव्य सम्मान गरिएको छ, यस्तो सम्मान स्वयम् गोराहरुले पनि पाउदैनन्'-गोर्खा मेजर गुरुङले भने। अन्तिम श्रद्धाञ्जलीमा सरिक लेफि्टनेन्ट कर्णेल अल्टनले वीरयोद्धा राईले आफ्नो दर्जा र सेवाअवधि अनुसार बेलायती सेनाबाट पाउने सेवा, सुविधामा कुनै कमी नहुने उल्लेख गरे।
 मृतक राईका बुबा नागधन राईले युद्धमैदानमा छोराले वीरगति प्राप्त गरेपनि उनलाई बेलायत, ब्रुनाईलगायतले ठुलो सम्मान दिएकोले सन्तोषको सास पाएको प्रतिक्रिया दिए। ‘विजयको वलिदान त्यसै खेर गएन, उसलाई विश्वले नै चिन्यो, सम्मान दियो'-बुबा नागधनले भने। विजय सन् २००८ मा बेलायती सेनामा भर्ती भएका थिए। ब्रनाई पल्टनमा कार्यरत उनी ४ महिनाको लागि अफ्गानिस्तानमा शान्तिसेनामा खटिएका थिए। गोलीलागेको दिन उनको मिशनको अन्तिम दिन थियो। विडम्बना, भोलिपल्ट बु्रनाइ फर्कने तयारीमा रहेका विजय सधैका लागि धर्तीबाट विदा भए.
विजयका बुबा भारतीय सेनाका अवकाश प्राप्त क्याप्टेन हुन्। उनका तीन श्रीमति मध्ये विजय माइली श्रीमति लक्ष्मी राईका पटिका एक मात्र सन्तान थिए। विजयकी आमा लक्ष्मी भोजपुर जिल्लाको देउराली गाविसको पूख्यौली घरमै बस्थिन्। विजयका बुबा नागधन र कान्छी आमा इन्द्रकुमारी भने तरहरास्थित जेठी श्रीमति धनस्वरी राईका छोरा नगेनका घरमा बस्दै आएका थिए। विजयले पनि कक्षा ७ देखि १२ सम्म त्यही घरमा बसेर अध्ययन गरी त्यहीबाट लाहुर लागेका थिए। उनको जेठी आमातर्फ दुई दिदी र दुई दाजु छन्।

नेपाली हिप पोप म्यूजिक भिडियो



नेपाली हिप पोप म्यूजिक भिडियो